राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा निर्वाचित रामकुमार नेपालीले लिए पदस्थापना

1k Shares

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित लोकदोहोरी गायक रामकुमार नेपालीले पद तथा जिम्मेवारी ग्रहण गरेका छन्।

काठमाडौंको टोखास्थित प्रतिष्ठानको आफ्नै भवनमा आयोजित पदस्थापना कार्यक्रममा नेपालीले केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका हुन्। कार्यक्रम प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनबाट पशुपति शर्मा अध्यक्षमा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा केन्द्रीय सदस्यको जिम्मेवारी पाएका नेपालीले नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षण, प्रवर्द्धन र विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

करिब दुई दशकदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय नेपालीका एक हजारभन्दा बढी गीत सार्वजनिक भइसकेका छन्। गायन क्षेत्रमा लामो अनुभव बटुलेका उनी कलाकारितासँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत सक्रिय छन्।

केन्द्रीय सदस्यमा निर्वाचित भई पदस्थापना ग्रहण गरेपछि नेपालीले आफूलाई विश्वास गरी साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण अग्रज कलाकार, प्रदेश, जिल्ला तथा समन्वय समितिका प्रतिनिधि र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

नयाँ कार्यसमितिले नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण, कलाकारको हकहित र लोकदोहोरी क्षेत्रको संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार