सुदूरपश्चिमलाई लयमा फर्कने चुनौती, पोखरा पहिलो जितको खोजीमा

477 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

पोखरा एभेन्जर्स यस सिजनको पहिलो खेल खेल्दैछ। कप्तान कुशल भुर्तेलको नेतृत्वमा मैदान उत्रने पोखराको लक्ष्य प्रतियोगितामा विजयी सुरुवात गर्नु हुनेछ।

अर्कोतर्फ, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स भने पहिलो हार बिर्साउँदै पुनरागमन गर्ने प्रयासमा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

उक्त खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो। जवाफमा लुम्बिनीले ९.५ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाएका थिए।

पहिलो खेलमा ब्याटिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको सुदूरपश्चिमलाई पोखराविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्नुपर्ने चुनौती छ।

पोखराको बलियो टोली, सुदूरपश्चिमलाई जितको दबाब

पोखरा एभेन्जर्सले यस सिजन अनुभवी स्वदेशी खेलाडीका साथै विदेशी खेलाडीलाई समेटेर टोली तयार पारेको छ। टोलीमा बङ्गलादेशका अलराउन्डर शाकिब अल हसन तथा श्रीलङ्काका चमिका करुणारत्ने र धनञ्जय लक्षण छन्।

कप्तान भुर्तेलको नेतृत्वमा रहेको पोखराले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्ने लक्ष्य राखेको छ। अघिल्ला दुई संस्करणमा प्लेअफमा पुग्न नसकेको पोखराका लागि यस पटक प्रतियोगितामा प्रभावकारी प्रदर्शन गर्नु महत्त्वपूर्ण हुनेछ।

सुदूरपश्चिम भने एनपीएलका अघिल्ला दुवै संस्करणको उपविजेता टोली हो। टोलीमा कप्तान ऐरीसहित स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र न्युजिल्यान्डका स्कट कुगेलेइनजस्ता विदेशी खेलाडी छन्।

अघिल्लो खेलमा कमजोर ब्याटिङका कारण पराजित भएको सुदूरपश्चिमले यस पटक ब्याटिङमा सुधार गर्दै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। पोखरा प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ भने सुदूरपश्चिम अङ्क जोड्दै अघिल्लो हारबाट फर्कन चाहन्छ। त्यसैले दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार