गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित चुमचेत क्षेत्रमा ठूलो पहिरो गएपछि बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको हुन सक्ने मौसमविद्हरूले बताएका छन्। पहिरोले बूढीगण्डकीको सहायक नदी थुनिएर एक्कासि खुलेपछि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार स्याटेलाइट तस्बिरको अध्ययन गर्दा चुमचेत आसपासमा ठूलो पहिरो गएको देखिएको छ।
‘हामीले स्याटेलाइट तस्बिर हेरिरहेका छौँ। चुमचेत आसपासमा ठूलो पहिरो देखिन्छ। उक्त पहिरो हिजो नै गएको हो। बूढीगण्डकीका सहायक नदी थुनिएर एक्कासि बगेपछि बाढी आएको हुन सक्छ,’ उनले कान्तिपुरसँग भनेका छन्।
स्थानीयवासीले श्रृंगी हिमालमा हिमपहिरो गएको हुन सक्ने आशंका गरे पनि त्यसको पुष्टि भएको छैन। बाढीविद् पराजुलीले हिमालको छेउमा पहिरो गएको देखिए पनि हिमपहिरो नै गएको भन्ने निष्कर्षमा पुग्न नसकिएको बताएका छन्।
प्रारम्भिक अनुमानअनुसार बूढीगण्डकीको सहायक नदी उङ्गेलिङ पहिरोका कारण थुनिएको हुन सक्ने सम्भावना छ। यद्यपि, बाढीको वास्तविक कारणबारे थप अध्ययन तथा पुष्टि हुन बाँकी छ। यसैबीच, बूढीगण्डकी नदीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेको महाशाखाले जनाएको छ। नदीको पानीको सतह खतराको तहभन्दा माथि रहेकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम कायम छ।
महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेको छ। त्यस्तै, मुग्लिन तथा त्यसभन्दा तल चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको बहावमा हुने परिवर्तनलाई ध्यानमा राख्दै नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमप्रति सचेत हुन आग्रह गरिएको छ।