सुक्खा पहिरोले बूढीगण्डकी थुनिएको आशंका, फुटेर बाढी आउन सक्ने त्रास

393 Shares

गोरखा । बूढीगण्डकी नदीमा बिहान ४ बजेदेखि आएको लेदोसहितको बाढीले गोरखाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बिहान पौने ८ बजेदेखि नदी फेरि थुनिएपछि थप बाढी आउन सक्ने जोखिम बढेको छ।

चुमनुब्री गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार बिहानदेखि आएको बाढीले नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढी आउने र रोकिने क्रम जारी रहेकाले जोखिम थप बढ्न सक्ने उनले बताएका छन्।

‘पहिलो बाढी बिहान ४ बजेपछि आयो। तर बाढी आउने र रोकिने हुँदा झन् जोखिम देखिएको छ। बिहान पौने ८ बजेदेखि बूढीगण्डकी थुनिएको छ,’ सापकोटाले शिलापत्रसँग भने, ‘माथि नदी नै ब्लक भएकोले त्यो फुटेर आउन सक्ने त्रास देखिएको छ।’

उनका अनुसार बिहान आएको बाढीले तटीय क्षेत्रका ३० भन्दा बढी घर बगाएको छ। बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। बाढीले विभिन्न स्थानका पुलसमेत बगाएको छ।

माथिल्लो क्षेत्रमा गएको सुक्खा पहिरोका कारण नदी थुनिएको आशंका गरिएको छ। नदी थुनिएर बनेको अवरोध फुटेमा एक्कासि ठूलो बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार