गोली लागेर पक्राउ परेका आर्यन माझीविरुद्ध २७ वटा मुद्दा

736 Shares

२२ असोज, काठमाडौं । काठमाडौंको काँडाघारीबाट पक्राउ परेका आर्यन माझी विभिन्न चोरी तथा डाँका मुद्दामा २७ वटा मुद्दाका प्रतिवादी रहेको खुलेको छ। प्रहरीका अनुसार उनी लुटपाटमा संलग्न समूहका मुख्य नाइकेमध्ये एक हुन्। 

प्रहरीले बुधबार राति करिब पौने १० बजे काँडाघारीबाट माझीसहित तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो। गोली लागेका माझीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माझी विभिन्न समयमा जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएका डाँका तथा चोरीसम्बन्धी २७ वटा मुद्दामा पक्राउ परेको अभिलेख भेटिएको हो।

अनुसन्धानका क्रममा माझीसहितको समूहले काठमाडौंका विभिन्न क्षेत्रमा लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। बाटोमा हिँडिरहेका मानिसलाई लक्षित गरी सिक्री तथा अन्य सामान लुट्ने गरेको समेत प्रहरीको भनाइ छ। 

पक्राउ पर्ने अन्यमा मकवानपुरको बकैया गाउँपालिका–५ का राकेश थिङ र बकैया गाउँपालिका–७ का मनोजकुमार मोक्तान रहेका छन्। प्रहरीका अनुसार थिङ मोटरसाइकलको पछाडि र मोक्तान अगाडि बसेर लुटपाटका घटनामा संलग्न हुने गरेको आरोप छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

 
सम्बन्धित समाचार