इजरायल रोजगारीको नाममा करोडौँ ठगी प्रकरण : थप दुई जना पक्राउ

393 Shares

काठमाडौं । इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरेको हो ।

इजरायलमा ‘केयरगिभर’का रूपमा रोजगारीमा पठाइदिने भन्दै परीक्षामा उत्तीर्ण भएर प्रतीक्षा सूचीमा रहेका युवाहरूलाई लक्षित गरी रकम असुलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा यसअघि दुई जना पक्राउ परिसकेका थिए । थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीचको सरकार–सरकार (जीटुजी) प्रक्रियाअन्तर्गत सन् २०२४ मा केयरगिभर रोजगारीका लागि परीक्षा सञ्चालन भएको थियो । उक्त परीक्षामा उत्तीर्ण भएर पनि छनोट हुन नसकी प्रतीक्षा सूचीमा रहेका युवालाई तत्काल इजरायल पठाइदिने भन्दै ठगी गरिएको आरोप छ ।

प्रारम्भिक अनुसन्धानअनुसार पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी रकम संकलन गरिएको थियो । पीडितबाट प्रतिव्यक्ति ठूलो रकम उठाइएको र योजनाबद्ध रूपमा २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको प्रहरीको भनाइ छ ।

आरोपीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित फर्जी कागजातसमेत देखाएर पीडितलाई विश्वासमा पारेको आरोप छ । साथै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी इजरायल पठाउने काम निश्चित भएको भन्दै आश्वासन दिएको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।

यस घटनामा पक्राउ परेकाविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

घटनामा अझै अन्य व्यक्ति तथा पीडितहरू संलग्न वा प्रभावित हुन सक्ने भन्दै सीआईबीले ठगीमा परेका व्यक्तिहरूलाई प्रमाणसहित जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले थप उजुरी संकलन गरी अनुसन्धान अघि बढाउने जनाएको छ ।

सम्बन्धित समाचार