रोल्पा । रोल्पाको जन्तरेमा आयोजित ‘जन्तरे सम्मेलन २०८३’ सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। ‘कन्सेप्ट लुम्बिनी’को आयोजनामा कात्तिक ९ र १० गते सम्पन्न सम्मेलनमा पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वसहित तीन सयभन्दा बढी युवाको सहभागिता रहेको थियो।
रोल्पाको प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा तथा स्थानीय समुदायका परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनमा परिचित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
सम्मेलनले रोल्पा र रुकुमको पर्यटन सम्भावना उजागर गर्दै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा जोड दिएको छ। पर्यटनलाई स्थानीय आयआर्जन र समावेशी आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
सम्मेलन मनोरञ्जन र उत्सवमा मात्र सीमित नभई मौलिक कला तथा संस्कृतिको संरक्षण, युवा प्रतिभाको प्रोत्साहन, वातावरणमैत्री पर्यटनको विकास र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीबारे छलफल गर्ने साझा मञ्चका रूपमा आयोजना गरिएको आयोजकको भनाइ छ।
सम्मेलनले यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीय समुदाय, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, युवा, कलाकार, सञ्चारकर्मी, विकास साझेदार र सर्वसाधारणबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।
सहकार्य, सद्भाव र साझा प्रतिबद्धताका माध्यमबाट रोल्पा तथा रुकुमको प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र आर्थिक सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य सम्मेलनले लिएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री, स्वास्थ्यमन्त्री, प्रदेशसभा सदस्य, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव, आन्तरिक तथा बाह्य पर्यटक, पर्यटन व्यवसायी, सञ्चारकर्मी र शुभेच्छुकहरूको सहभागिता थियो।
सम्मेलन सम्पन्न भएपछि आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय बासिन्दा, सहभागी, विकास साझेदार, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
जन्तरे सम्मेलनले स्थानीय पर्यटनको सम्भावना उजागर गर्नुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारका लागि सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

