हुम्लामा झोलुङ्गे पुल निर्माणको पहल गर्दै हर्क साम्पाङ

351 Shares

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकलाई पनि सहरमा बस्ने नागरिकसरह आधारभूत सेवासुविधा उपलब्ध गराउनुपर्ने बताएका छन्। हुम्लाको अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राज्यबाट प्रदान गरिने सेवा र सुविधाको असमान वितरणका कारण ग्रामीण क्षेत्रका नागरिक समस्यामा परेको बताएका हुन्।

सांसद साम्पाङका अनुसार शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवासुविधा सहरकेन्द्रित हुँदा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ। सबै क्षेत्रमा आवश्यक सेवासुविधा उपलब्ध गराउन सके नागरिकले आफूले चाहेको स्थानमा सहज रूपमा बसोबास गर्न सक्ने उनको भनाइ छ। उनले स्थानीयवासीले जोखिम मोलेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

साम्पाङको हुम्ला भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणसँग सम्बन्धित छ। उक्त स्थानमा स्थानीयवासी तुइनको सहायताले नदी वारपार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको छ। यद्यपि, निर्माण कार्य कहिलेदेखि सुरु हुन्छ र स्थानीयवासीले तुइनबाट नदी पार गर्नुपर्ने जोखिम कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय अझै चासोको केन्द्रमा छ।

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा अन्य आधारभूत पूर्वाधारको अभावका कारण स्थानीयवासीले लामो समयदेखि कठिनाइ भोग्दै आएका छन्। विशेषगरी नदी वारपार गर्न सुरक्षित पुल नहुँदा आवतजावत, स्वास्थ्य उपचार, शिक्षा तथा दैनिक जनजीवनमा समस्या हुने गरेको छ।

यस्तो अवस्थामा खडीखेतमा झोलुङ्गे पुल निर्माणले स्थानीयवासीको आवागमन सुरक्षित बनाउन र आधारभूत सेवामा पहुँच सहज तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार