प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन

435 Shares

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्।

प्रधानमन्त्री शाह बुधबार बिहान आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै पलाञ्चोक भगवती मन्दिर पुगेका हुन्। मन्दिरमा नित्य पूजा भइरहेका बेला पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरेर फर्किएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहको मन्दिर भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई पूर्वजानकारी नगराइएको बताइएको छ। स्रोतका अनुसार उनीसँगै रहेका सुरक्षाकर्मीसमेत सादा पोसाकमा थिए।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरमा विशेषगरी बडादसैँ र नवरात्रका अवसरमा दर्शनार्थीको भीड लाग्ने गर्छ।

मन्दिरमा नवरात्रको समयमा विशेष पूजाआजा हुने गरेको छ। प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परासमेत रहँदै आएको छ।

प्रधानमन्त्री शाहको भ्रमणको उद्देश्य र अन्य कार्यक्रमबारे भने थप आधिकारिक विवरण सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार