बाढीपीडितको उद्धार र राहतमा जुट्न विद्या भण्डारीको आग्रह

288 Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई एकजुट भएर काम गर्न आग्रह गरेकी छन्।

रसुवा र भोटेकोसी नदी आसपासका क्षेत्रमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि भण्डारीले प्रभावित नागरिकको उद्धार र राहतलाई प्राथमिकतामा राख्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकको ध्यानाकर्षण गराएकी हुन्।

उनले विपद्मा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा र अस्थायी आवासलगायतका आधारभूत सुविधा तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन्।

बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय हुनुपर्ने उनको भनाइ छ। बेपत्ता नागरिकको खोजीलाई तीव्रता दिन तथा विस्थापित परिवारको व्यवस्थापनका लागि पर्याप्त स्रोतसाधन परिचालन गर्न पनि उनले आग्रह गरेकी छन्।

भण्डारीले विपद्का कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित परिवारको पुनःस्थापना र जनजीवन सामान्य बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन्।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी छन्।

उनले विपद्को कठिन अवस्थामा राजनीतिक मतभेदभन्दा माथि उठेर मानवीय सेवामा जुट्न र प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन सबै पक्षलाई आह्वान गरेकी छन्।

सम्बन्धित समाचार