चितवन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोग पुष्टि हुने नयाँ बिरामीको अनुपात बढेको छ । अस्पतालको तथ्याङ्कअनुसार सन् २०२५ मा उपचारका लागि आएका नयाँ बिरामीमध्ये २५.१७ प्रतिशतमा क्यान्सर पुष्टि भएको छ ।
अस्पतालका अनुसार सन् २०२५ मा बहिरङ्ग विभाग (ओपीडी) मा आएका २७ हजार २४३ नयाँ बिरामीमध्ये ६ हजार ८५८ जनामा क्यान्सर देखिएको हो । सन् २०२४ मा भने ३१ हजार ५६० नयाँ बिरामीमध्ये ७ हजार ९ जनामा क्यान्सर पुष्टि भएको थियो । उक्त वर्ष नयाँ बिरामीमध्ये क्यान्सर पुष्टि हुने दर २२.२० प्रतिशत थियो ।
अस्पतालका डा. सुशील अधिकारीका अनुसार नयाँ बिरामीको सङ्ख्या घटे पनि क्यान्सर पुष्टि हुने बिरामीको अनुपात बढेको छ । सन् २०२५ मा अस्पतालको ओपीडीबाट कुल २ लाख १२ हजार ९७७ जनाले सेवा लिएका थिए । सन् २०२४ मा यो सङ्ख्या २ लाख ४ हजार ९७१ थियो ।
अस्पतालको तथ्याङ्कअनुसार सन् २०२५ मा क्यान्सर पुष्टि भएका बिरामीमध्ये ३ हजार ८४ पुरुष र ३ हजार ७७४ महिला छन् । यसले उक्त वर्ष अस्पतालमा क्यान्सर पुष्टि भएका बिरामीमध्ये महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी रहेको देखाउँछ ।
नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा धेरैमा फोक्सोको क्यान्सर पुष्टि भएको छ । गत वर्ष ३८० पुरुष र ३७९ महिला गरी ७५९ जनामा फोक्सोको क्यान्सर देखिएको थियो ।
दोस्रो स्थानमा स्तन क्यान्सर रहेको छ । अस्पतालको तथ्याङ्कअनुसार ७११ महिला र २० पुरुष गरी ७३१ जनामा स्तन क्यान्सर पुष्टि भएको थियो । त्यस्तै, ६२२ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको थियो ।
यसैगरी, ३७७ जनामा पित्तथैली तथा पित्तनलीको क्यान्सर, ३५६ जनामा आमाशयको क्यान्सर र ३५३ जनामा रक्त तथा बोनम्यारोसम्बन्धी क्यान्सर पुष्टि भएको अस्पतालले जनाएको छ । सन् २०२५ मा अस्पतालमा ५१ प्रकारका क्यान्सरका बिरामी उपचारका लागि आएका थिए ।
अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्न बिरामीको निःशुल्क उपचार गरेको छ । उनीहरूको उपचारमा ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ बराबरको छुट प्रदान गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालमा ५०० शय्या छन् । आईसीयू, एचडीयू र क्याबिनबाहेकका सामान्य शय्या निःशुल्क उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ । भर्ना भएर उपचार गराउने बिरामीलाई दैनिक दुई छाक खाना र एक छाक नास्तासमेत निःशुल्क उपलब्ध गराइँदै आएको निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले जानकारी दिएका छन् ।
सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएका थिए भने ११ हजार ५५९ जना बिरामी भर्ना भएर उपचार गराएका थिए । यस अवधिमा ३ हजार ९१ वटा ठूला शल्यक्रिया गरिएको थियो । दैनिक २२० देखि २४० जनासम्म बिरामीलाई रेडियोथेरापी सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ ।
त्यस्तै, २ हजार ९७० जनाले विकिरण प्रविधिबाट उपचार गराएका थिए भने २६ हजार ४७२ जनाले डे केयर सेवाअन्तर्गत केमोथेरापी लिएका थिए ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालका ७७ वटै जिल्ला तथा भारतका विभिन्न स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । सन् २०२५ मा अस्पतालमा आएका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै ४ हजार ४१५ जना चितवनका थिए ।
त्यसपछि रुपन्देहीका १ हजार ३७३, नवलपुरका १ हजार २४४, बाराका १ हजार १८६, दाङका १ हजार १०७ र सर्लाहीका १ हजार १७७ जना बिरामी अस्पताल आएका थिए । भारतबाट उपचारका लागि आएका बिरामीमध्ये १९५ जनामा क्यान्सर पुष्टि भएको तथ्याङ्क छ ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार नेपालमा क्यान्सर भएका बिरामीमध्ये ठूलो हिस्सा उपचारका लागि भरतपुरस्थित यही अस्पतालमा आउने गरेको छ । विशिष्ट तथा एकीकृत उपचार सेवा उपलब्ध भएकाले विभिन्न जिल्लाबाट बिरामी रिफर भएर आउने गरेको उनले बताएका छन् ।
चिकित्सकहरूका अनुसार सहरी जीवनशैली, अस्वस्थ खानपान, सुर्तीजन्य पदार्थको प्रयोग र प्रदूषणलगायतका कारण क्यान्सरको जोखिम बढ्न सक्छ । अस्पतालको विवरणमा सुर्तीजन्य पदार्थको प्रयोगलाई क्यान्सरको प्रमुख जोखिम कारकमध्ये एकका रूपमा उल्लेख गरिएको छ ।
अस्पतालले उपचारसँगै क्यान्सरसम्बन्धी जनचेतना, स्क्रिनिङ तथा रोकथामका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । स्तन क्यान्सरको पहिचानका लागि मेमोग्राफी सेवा उपलब्ध गराइएको छ भने चीन सरकारको सहयोगमा बोनम्यारो प्रत्यारोपण परियोजना अघि बढाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
विसं २०५३ मा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अहिले देशकै प्रमुख क्यान्सर उपचार केन्द्रमध्ये एकका रूपमा सञ्चालनमा छ । अस्पतालमा ७१८ कर्मचारी कार्यरत छन्, जसमध्ये १०० जना चिकित्सक र २९५ जना नर्स रहेका छन् ।