बेत्रावतीमा एक्रो ब्रिज सञ्चालनमा, यातायात सहज हुने अपेक्षा

491 Shares

काठमाडौं, २५ असोज। नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरिएको एक्रो ब्रिज सञ्चालनमा आएको छ। गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले पुल बगाएपछि अवरुद्ध सडक यातायातलाई सहज बनाउने उद्देश्यले नेपाली सेनाले पुल निर्माण गरेको हो।

बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको पुलको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाबीचको सडक सम्पर्क पुनःस्थापित हुनुका साथै स्थानीय बासिन्दा, यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

उपलब्ध विवरणअनुसार पुल ७३.२ मिटर लामो र ५.५ मिटर चौडा छ। यसको भारवहन क्षमता ४० टन रहेको छ। नेपाली सेनाले असोज २० गतेदेखि सुरु गरेको पुल जडानको काम असोज २४ गते सम्पन्न गरेको थियो।

पुल निर्माणका लागि सेनाले कठिन चट्टानी क्षेत्रमा काम गर्दै करिब ३०० मिटर सडक पहुँचमार्गसमेत तयार पारेको थियो। बाढीका कारण सडक तथा पुलका संरचनामा क्षति पुगेपछि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो।

फलाकु खोलामा पुल सञ्चालनमा आएसँगै रसुवाका विभिन्न क्षेत्रमा दैनिक उपभोग्य सामग्री तथा अत्यावश्यक वस्तु ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय बासिन्दाको आवागमन, व्यापार–व्यवसाय तथा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काममा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

बाढीले क्षति पुर्‍याएका सडक तथा पुलको पुनःस्थापनाले प्रभावित क्षेत्रको यातायात सेवा नियमित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार