काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीति जारी गर्ने तयारी गरेको छ। पार्टीको सूचना तथा सञ्चार प्रविधि विभागले तयार पारेको नीतिको मस्यौदा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई बुझाइएको छ।
मस्यौदा बुझ्दै पार्टी संयोजक प्रचण्डले पार्टीका सही नीति तथा कार्यक्रम जनतामाझ स्थापित गर्न र गलत सूचना तथा भ्रम चिर्न सूचना प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने बताए। उनले गलत अल्गोरिदमको प्रभावलाई चिर्न सही सूचनाको आवश्यकता रहेको पनि उल्लेख गरे।
त्यस्तै, सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दलहरूले खेलेका ऐतिहासिक तथा सकारात्मक भूमिकालाई कमजोर देखाएर समाजमा गलत भाष्य स्थापित गर्न खोजिएको बताए।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले समग्र पार्टी पङ्क्तिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। विभागीय प्रमुख दुलालले पार्टीका नीति तथा कार्यक्रम सूचना प्रविधिको माध्यमबाट जनतामाझ पुर्याउन विभागले भूमिका खेल्ने बताए।
नेकपाको सूचना तथा सञ्चार प्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएपछि उक्त नीति कार्यान्वयनमा जानेछ।