काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै खड्गीले कांग्रेसमा कोही पनि निर्विकल्प नरहेको बताएका छन्। उनले नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखिएका चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने उद्देश्यसहित आफू महाधिवेशनको मैदानमा रहेको उल्लेख गरेका छन्।
खड्गीले मतदान, मतगणना र परिणाम घोषणाको प्रक्रिया निष्पक्ष र निर्भय रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। उनका अनुसार आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने उद्देश्यमा केन्द्रित छ।
उनले नेपाली कांग्रेस मुलुकको पुरानो र ऐतिहासिक लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीले आन्तरिक तथा बाह्य लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गर्दै आएको बताएका छन्।
खड्गीले यसअघि नै सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए। अन्तिम नामावलीअनुसार कांग्रेस सभापतिका लागि खड्गी र गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ।