काठमाडौं । पछिल्लो २४ घण्टामा अर्घाखाँचीसहित देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अर्घाखाँचीको सिमलपानीमा धेरै भारी वर्षा मापन भएको छ भने अन्य सात जिल्लाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ।
विभागको पछिल्लो विवरणअनुसार सिमलपानी क्षेत्रमा २४ घण्टामा ९८.२ मिलिमिटरसम्म वर्षा मापन भएको छ। यसैगरी देशका विभिन्न स्थानमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाका कारण अर्घाखाँचीको सिमलपानी आसपास भएर बहने स–साना नदी तथा खोलामा जलसतह बढ्न सक्ने चेतावनी दिइएको छ। बाणगंगा नदीको तल्लो तटीय क्षेत्रमा समेत जलसतह बढ्न सक्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
देशका विभिन्न स्थानमा अहिले पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। थप वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।