मकैको खेती’ सम्झिँदै योगेश भट्टराईले दिए यस्तो राजनीतिक सन्देश

547 Shares

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वको आलोचना वा प्रश्न गर्नेलाई कारबाही गर्ने चेतावनीको सन्दर्भमा ‘मकैको खेती’ पुस्तकलाई विम्बका रूपमा प्रयोग गरेका छन्।

भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत सत्ता र शक्तिमा रहेकाहरूले आफैँ कानुन उल्लङ्घन गर्ने तर अरूलाई कानुन पालना गर्न निर्देशन दिने अवस्था रहेमा ‘कृष्णलाल अधिकारीहरू जन्मने’ बताएका हुन्।

उनले लेखेका छन्, ‘सत्ता र शक्तिवालाहरू, आफू कानुनको धज्जी उडाऊँछन्, कानुन उल्लङ्घन गर्छन् अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्, तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?’

भट्टराईको यो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको ‘अपानी–३’ मा पार्टी नेतृत्वमाथि प्रश्न वा आलोचना गर्नेलाई कारबाही गर्ने चेतावनी दिइएको विषयसँग जोडिएको देखिन्छ।

‘मकैको खेती’ कृष्णलाल अधिकारीले लेखेको पुस्तक हो। तत्कालीन राणा शासनको समयमा प्रकाशित उक्त पुस्तकका कारण कृष्णलाल अधिकारीमाथि कारबाही भएको थियो। पुस्तकलाई राणा शासनविरुद्ध राजनीतिक चेतना फैलाउने घटनासँग जोडेर हेर्ने गरिन्छ।

त्यसैले भट्टराईले ‘कृष्णलाल अधिकारीहरू जन्मन्छन्’ र ‘मकैको खेती सुरु हुन्छ’ भन्नुका माध्यमबाट दमन वा आलोचनामाथिको प्रतिबन्धले प्रतिरोध र असन्तुष्टि जन्माउन सक्ने ऐतिहासिक प्रसङ्गतर्फ संकेत गरेको देखिन्छ। यो उनको राजनीतिक टिप्पणी हो, जसको अर्थ उनले स्वयंको शब्द र ऐतिहासिक सन्दर्भबाट बुझ्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार