वर्षाले रोकिएको कांग्रेसको बन्दसत्र ४ बजे बस्ने

526 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधिहरू खाना खान गएका बेला वर्षा भएपछि उनीहरू भृकुटीमण्डपमै रोकिएका कारण बन्दसत्र सुरु हुन ढिलाइ भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

यसअघि आज बिहान १०ः३० बजे बन्दसत्र पुनः सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर काठमाडौंमा परेको वर्षाका कारण निर्धारित समयमा प्रतिनिधिहरू सभागृहमा फर्कन नसकेपछि समय सारिएको हो।

अब बन्दसत्र अपराह्न ४ बजे सुरु गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ।

आजको बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने कार्यसूची छ।

यी प्रतिवेदनमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। छलफलमा सातवटै प्रदेशका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। निर्वाचन समितिका अनुसार बिहीबार बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने तयारी छ। मतदान खुलामञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्ने व्यवस्था मिलाइएको छ।

 
 
सम्बन्धित समाचार