काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री प्रदीपकुमार सुनुवारले पार्टीको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीमा सुनुवारको नाम खुला केन्द्रीय सदस्यतर्फ समावेश छ। खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ९२ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
ओखलढुंगाबाट कांग्रेसको राजनीतिमा सक्रिय सुनुवार विद्यार्थी राजनीतिबाट पार्टीमा आएका हुन्। उनले २०४२ सालमा नेपाल विद्यार्थी संघको जिरी इकाइबाट राजनीतिक यात्रा सुरु गरेको र २०४९ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएको विवरण सार्वजनिक भएको छ। २०५४ सालको स्थानीय निर्वाचनमा खिजीफलाँटे गाविस अध्यक्ष निर्वाचित भएका उनी ओखलढुंगा कांग्रेसको जिल्ला सभापतिसमेत दुई कार्यकाल भएका थिए।
सुनुवार २०७९ सालको निर्वाचनमा ओखलढुंगा प्रदेशसभा क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार, स्वास्थ्य तथा खानेपानीलगायत मन्त्रालयको जिम्मेवारी सम्हालेको विवरण पनि सार्वजनिक छ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका सुनुवारले यसपटक खुला समूहबाट पुनः केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन्। आफ्नो उम्मेदवारीलाई उनले पार्टीलाई थप सुदृढ, आधुनिक र जनमुखी बनाउने उद्देश्यसँग जोड्दै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ। निर्वाचन समितिले प्रारम्भिक सूचीमाथि दाबी–विरोधका लागि समय तोकेको जनाएको छ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेछ।