तेस्रो एनपीएलका लागि कीर्तिपुर मैदान तयार हुँदै, दर्शक क्षमता बढाइँदै

582 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा नेपाल क्रिकेट संघ (क्यान) ले मैदानको पूर्वाधार निर्माण, दर्शक व्यवस्थापन र आवश्यक सुविधासम्बन्धी कामलाई तीव्रता दिएको हो ।

क्यानका सचिव पारस खड्काका अनुसार एनपीएलको हरेक संस्करण थप बृहत् र लोकप्रिय हुँदै गएकाले यसपटक दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा सहज वातावरण उपलब्ध गराउने गरी तयारी भइरहेको छ ।

उनका अनुसार दसैँसम्म मैदानमा गर्नुपर्ने अधिकांश काम सम्पन्न गरी तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार पार्ने लक्ष्य राखिएको छ ।

गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदान परिसरमा केही नयाँ संरचना थपिने भएका छन् । एनपीएलका खेलमा दर्शकको चाप उच्च हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने तयारी भइरहेको क्यानले जनाएको छ ।

मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा समेत सुधारको पहल भइरहेको छ । सम्बन्धित मन्त्रालयसँग समन्वय गरी दर्शकलाई टिकट लिएर मैदान प्रवेश गरेदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइँदै छ ।

गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नुपरेको थियो । यसपटक ती समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको क्यानले जनाएको छ ।

दसैँतिहारको बीचमा एनपीएल

दसैँतिहारको बीचमा एनपीएल आयोजना हुन लागे पनि क्यानले दर्शक सहभागिता प्रभावित हुनेमा धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

क्यानका सचिव खड्काले नेपाली क्रिकेटको फ्यान बेस बलियो रहेकाले चाडपर्वको समय भए पनि प्रतियोगिताप्रति दर्शकको उत्साह कायम रहने विश्वास व्यक्त गरेका छन् ।

एनपीएलको मिति तय गर्दा अन्तर्राष्ट्रिय क्रिकेटको तालिका, अन्य फ्रेन्चाइज लिग तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको क्यानले जनाएको छ । यी पक्षलाई ध्यानमा राख्दा यस वर्ष दसैँतिहारको बीचको समय प्रतियोगिता आयोजनाका लागि उपयुक्त देखिएको खड्काको भनाइ छ ।

तेस्रो संस्करणमा सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रम पनि तीव्र पारेका छन् । विदेशी खेलाडीको उपस्थितिले एनपीएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ ।

टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म आकर्षित गर्ने क्यानको विश्वास छ ।

एनपीएलको तेस्रो संस्करण आगामी ९ कात्तिकदेखि ५ मंसिरसम्म काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न मैदानको पूर्वाधार, दर्शक व्यवस्थापन, प्रवेशद्वार, शौचालयलगायत आवश्यक सुविधालाई व्यवस्थित बनाउने कामलाई अन्तिम रूप दिइँदै छ ।

सम्बन्धित समाचार