हुम्ला । हुम्लामा गएरातिदेखि अचानक वर्षा र हिमपात सुरु भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको छ।
नाम्खा, सिमकोटलगायत उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा अदानचुली र ताँजाकोट क्षेत्रमा वर्षा भइरहेको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।
वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक र गोरेटो बाटो हिलाम्मे बनेका छन्। कतिपय स्थानमा सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको सर्केगाड–१, जैरका स्थानीय दीपक कार्कीले बताए। उनका अनुसार खच्चा क्षेत्रमा वर्षाका कारण सडक अवरुद्ध भएको छ।
वर्षाले पाक्न लागेको अन्नबाली र तरकारीमा क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहावसमेत बढ्न थालेको छ।
चिसो बढेपछि पशुचौपायाको आहार तथा संरक्षणमा पनि समस्या भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले सम्भावित क्षतिबाट जोगिन स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार वर्षाबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।