धरान । चाडपर्व नजिकिएसँगै सुनसरीको धरानमा खसीबोकाको कारोबार बढेको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै खसीबोकाको खरिद–बिक्री बढेको हो।
कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका खरिद–बिक्रीका लागि धरान आउने गरेका छन्। बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको समेत नियमित कारोबार हुने गरेको छ।
कृषि उपज बजारमा विशेषगरी बिहीबार र शुक्रबार खसीबोकाको बजार लाग्ने गरेको छ। चाडपर्व नजिकिँदै गएसँगै कारोबारको मात्रा पनि बढ्दै गएको व्यवसायीहरूले बताएका छन्।
धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन्। उनले आफ्नै घरमा खसीबोका पाल्नुका साथै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्दै आएका छन्।
उनका अनुसार खसीबोकाको व्यापारमा कहिले नाफा र कहिले घाटा भए पनि यही व्यवसायबाट परिवारको खर्च धानिँदै आएको छ। धरानको खसी बजार व्यवस्थित भएकाले व्यापार गर्न सहज भएको उनको भनाइ छ।
त्यस्तै, मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का पनि प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउने गरेका छन्। उनले एकपटकमा करिब १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएका छन्। खड्काले यो व्यवसाय थालेको २३ वर्ष भइसकेको बताए।
धरानबाट खरिद गरिएका खसीबोका काठमाडौं, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायतका सहरमा बिक्री हुने गरेको उनले जानकारी दिए।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य समयमा पनि बजारमा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन्।
तर दसैँ, तिहारजस्ता प्रमुख चाडपर्वको समयमा कारोबार उल्लेख्य रूपमा बढ्ने गरेको छ। उनका अनुसार चाडपर्वका बेला सातामा १० हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन्।
आर्थिक वर्ष २०८२/८३ मा धरान कृषि उपज बजारबाट मात्रै एक लाख ६० हजार खसीबोका बिक्री भएका थिए। उक्त कारोबारबाट करिब तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजार व्यवस्थापन समितिले जनाएको छ।
गत वर्षको चाडपर्वको समयमा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको थियो। यस वर्ष चाडपर्वका समयमा कारोबार अझै बढ्न सक्ने समितिको अनुमान छ।
अध्यक्ष भट्टराईका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोकाको कारोबार हालसम्म करिब १५ प्रतिशतले वृद्धि भइसकेको छ।
बजारमा कोशी प्रदेशका पहाडी जिल्लासँगै इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत तराईका क्षेत्रबाट समेत किसान तथा व्यापारी खसीबोका बिक्री तथा खरिदका लागि आउने गरेका छन्।
धरान कृषि उपज बजार कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा विकास हुँदै गएको समितिको भनाइ छ। बजारले पहाडी जिल्लाका किसानले उत्पादन गरेका खसीबोकालाई बिक्रीका लागि सहज बजार उपलब्ध गराउँदै आएको छ।
यसबाट किसानले आफ्नो उत्पादन बिक्री गर्न बजार पाउनुका साथै खसीबोकाको व्यापारसँग जोडिएका व्यवसायी र श्रमिकलाई समेत रोजगारीको अवसर सिर्जना भएको समितिले जनाएको छ।
चाडपर्वका बेला खसीबोकाको माग बढ्ने भएकाले आगामी दिनमा कारोबार अझै बढ्ने व्यवसायीहरूको अपेक्षा छ।