काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी दुई ठूला क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै काठमाडौंका प्रमुख क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणको काम तीव्र बनाएको छ।
नेपालले पहिलोपटक आयोजना गर्न लागेको आईसीसी यु–१९ महिला विश्वकप तथा आगामी कात्तिकदेखि सुरु हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आवश्यक तयारी अघि बढाइएको हो।
क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहका अनुसार दुवै प्रतियोगिता सफल रूपमा सञ्चालन गर्न मैदान तथा आसपासका पूर्वाधार व्यवस्थित बनाउने काम भइरहेको छ। विशेषगरी एनपीएलका अघिल्ला दुई संस्करणमा देखिएका दर्शक व्यवस्थापन, पार्किङलगायतका समस्यालाई यसपटक सुधार गर्ने तयारी गरिएको उनले बताए।
उनका अनुसार दर्शकले टिकट खरिद गरेर खेल हेर्ने भएकाले उनीहरूलाई सहज वातावरण उपलब्ध गराउनु क्यानको प्राथमिकतामा रहेको छ।
‘विगतमा जुन–जुन ठाउँमा त्रुटि भएको थियो, त्यसलाई यसपटक सच्याउने प्रयास गर्नेछौँ। दर्शकलाई सुविधा दिने प्रयास गर्नेछौँ, किनकि उनीहरूले पैसा तिरेर खेल हेर्नुहुन्छ,’ उपाध्यक्ष सिंहले भने।
दर्शकको सुविधाका लागि पार्किङ तथा बाइक स्ट्यान्डलाई व्यवस्थित बनाउने कामसमेत अघि बढाइएको उनले जानकारी दिए। मैदानमा दर्शकलाई कहाँ–कहाँ समस्या हुन सक्छ भन्ने पहिचान गरी त्यसअनुसार व्यवस्थापन सुधार गर्न लागिएको उनको भनाइ छ।
क्यानले एनपीएलका पहिलो र दोस्रो संस्करणका कमजोरीबाट सिक्दै तेस्रो संस्करणमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। मैदान प्रवेश, दर्शक व्यवस्थापन, पार्किङलगायतका विषयमा विगतका समस्या दोहोरिन नदिन ध्यान दिइएको क्यानले जनाएको छ।
नेपालले आगामी पुसमा पहिलोपटक आईसीसी यु–१९ महिला विश्वकप आयोजना गर्दैछ। प्रतियोगिताका खेल टियु क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
उपाध्यक्ष सिंहका अनुसार मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल सञ्चालन हुनेछन्। प्रतियोगितालाई लक्षित गर्दै दुवै मैदानमा आवश्यक संरचना थप्ने तथा स्तरोन्नति गर्ने काम भइरहेको छ।
मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), एसियाली क्रिकेट परिषद् (एसीसी) र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको क्यानले जनाएको छ।
मूलपानी क्रिकेट मैदान लामो समयदेखि निर्माण तथा स्तरोन्नतिको क्रममा रहे पनि अझै पूर्ण रूपमा तयार हुन नसकेको भन्दै उपाध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले मूलपानी मैदानको निर्माण कार्यमा भइरहेको ढिलाइ अन्त्य गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी छिटो तयार पार्न सरकारसँग आग्रह गरे।
नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको र क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सिंहले क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
‘क्रिकेटले देशलाई चिनाएको छ । क्रिकेटले एउटा खुसी दिएको छ,’ उनले भने। उनका अनुसार नेपालमा अन्तर्राष्ट्रियस्तरका कम्तीमा दुई ठूला क्रिकेट मैदान तयार भएमा भविष्यमा विश्वकप, एसिया कप, एसीसी प्रिमियर कप, विश्वकप छनोटलगायतका ठूला प्रतियोगिता आयोजना गर्न सहज हुनेछ।
‘चाँडोभन्दा चाँडो मैदान निर्माण गरेर अन्तर्राष्ट्रिय जगत्मा नेपालमा पनि कम्तीमा दुईवटा ठूला ग्राउन्ड भएको देखाउनुपर्छ,’ सिंहले भने।
नेपालमा पर्याप्त क्षमताका अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भएमा भविष्यमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट राष्ट्र सहभागी हुने प्रतियोगितासमेत आयोजना गर्न सकिने क्यानको विश्वास छ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुँदा पर्यटन तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने सिंहको भनाइ छ। उनले नेपालले भविष्यमा विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिता आयोजना गरेर आर्थिक लाभ लिन सक्ने बताए।
यसका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको क्यानले जनाएको छ। मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न हुनु तथा टियु मैदानको स्तरोन्नति हुनु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पूर्वाधार विस्तारका लागि महत्वपूर्ण हुने क्यानको धारणा छ।