अनुसन्धान पत्र लेखनमा युनिग्लोबका विद्यार्थीबीच प्रतिस्पर्धा, तीन विधाका विजेता घोषणा

890 Shares

काठमाडौं । युनिग्लोब एसएस कलेजको साइन्स क्लबले आयोजना गरेको बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिताको छनोट तथा मूल्यांकन चरण सम्पन्न भएको छ।

११ असोजमा सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूले विज्ञान, सामाजिक विज्ञान, व्यवसाय तथा अर्थशास्त्र र कानुनी नीतिलगायत विभिन्न विषयमा अनुसन्धान पत्र प्रस्तुत गरेका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले अनुसन्धानका लागि साहित्य समीक्षा, प्राथमिक तथ्यांक संकलन तथा विश्लेषण गर्नुका साथै सर्वसाधारण र विषयविज्ञसँग अन्तर्वार्ता तथा स्थलगत सर्वेक्षणसमेत गरेका थिए।

कलेजका अनुसार प्रतियोगिता विशेषगरी १६ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको हो। उच्च माध्यमिक तहको अध्ययनलाई विश्वविद्यालयस्तरको अनुसन्धान अभ्याससँग जोड्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको कलेजले जनाएको छ।

प्रतियोगितामार्फत विद्यार्थीलाई विषय छनोटदेखि तथ्यांक संकलन, विश्लेषण, निष्कर्ष निर्माण र अनुसन्धान पत्रको औपचारिक प्रस्तुतीकरणसम्मको प्रक्रियामा प्रत्यक्ष सहभागी गराइएको थियो।

कलेजले यस्तो अभ्यासले विद्यार्थीमा आलोचनात्मक सोच, तार्किक क्षमता, सिर्जनशीलता तथा समस्या समाधान गर्ने सीप विकास गर्न सहयोग पुग्ने जनाएको छ।

विज्ञ र शिक्षाविद्बाट मूल्यांकन

प्रतियोगिताको छनोट तथा मूल्यांकनका लागि विभिन्न क्षेत्रका विज्ञ, शिक्षाविद् तथा पेशाकर्मी सहभागी भएका थिए।

मूल्यांकन तथा मार्गदर्शनमा पत्रकार तथा प्राध्यापक मनोजकुमार दाहाल, लिबर्टी कलेजका प्राचार्य डा. देव राज पनेरु, इन्जिनियर भीमचन्द्र गौतम, डा. अर्चना नेपाल शिवाकोटी, एसोसिएट प्रोफेसर डा. गोपीचन्द्र काफ्ले, डा. राजेन्द्र ओझा र मानसिक स्वास्थ्य परामर्शदाता रुशु कटेल सहभागी थिए।

विद्यार्थीहरूले प्रस्तुत गरेका अनुसन्धान पत्रको विषयवस्तु, अनुसन्धान पद्धति, तथ्यांकको प्रयोग, विश्लेषण, निष्कर्ष तथा प्रस्तुतीकरणलगायत पक्षलाई मूल्यांकनको आधार बनाइएको कलेजले जनाएको छ।

तीन विधाका विजेता घोषणा

कलेजका अनुसार अन्तिम मूल्यांकनपछि प्रतियोगितामा तीन प्रमुख विधाका विजेता घोषणा गरिएको छ। विज्ञान, सामाजिक विज्ञान तथा व्यवसाय–अर्थशास्त्र र कानुनी नीतिसँग सम्बन्धित विधामा उत्कृष्ट अनुसन्धान तथा प्रस्तुतीकरण गर्ने विद्यार्थी टोलीलाई विजेता घोषणा गरिएको हो।

विजेता टोलीलाई नगद पुरस्कार तथा पदक प्रदान गरिने कलेजले जनाएको छ।

अनुसन्धान र व्यावहारिक सिकाइमा जोड

युनिग्लोब एसएस कलेजले विद्यार्थीलाई परीक्षामुखी शिक्षासँगै अनुसन्धान, नवप्रवर्तन, प्रस्तुतीकरण, नेतृत्व तथा व्यावहारिक सिकाइका अवसर उपलब्ध गराउँदै आएको जनाएको छ।

कलेजका अनुसार अनुसन्धान पत्र लेखन प्रतियोगिताले विद्यार्थीलाई कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर दिएको छ। साथै, वास्तविक तथ्यांक संकलन गर्ने, त्यसको विश्लेषण गर्ने र प्राप्त निष्कर्षलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने अभ्यासले विद्यार्थीको अनुसन्धान क्षमता विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा विद्यार्थीहरूले हप्तौँसम्म तयारी गरेर अनुसन्धान पत्र तयार गरेका थिए। यस क्रममा उनीहरूले विभिन्न स्रोतको अध्ययन गर्नुका साथै प्राथमिक तथ्यांक संकलन, स्थलगत अध्ययन तथा अन्तर्वार्तामार्फत आफ्ना अनुसन्धानलाई थप आधार दिएका थिए।

कलेजले आगामी दिनमा पनि विद्यार्थीको अनुसन्धान क्षमता र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार