प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

470 Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने कार्यतालिका छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नेछन् ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तीनवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ तथा ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन् ।

राष्ट्रियसभामा पनि विभिन्न विषयमा छलफल

राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ ।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पनि राष्ट्रियसभा बैठकमा पेस गर्नेछिन् ।

दुई संसदीय समितिको बैठक पनि बस्दै

आजै संघीय संसद्का दुईवटा संसदीय समितिको बैठक पनि बस्दैछ । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कृषि मन्त्री र मन्त्रालयका सचिवलाई बोलाइएको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान सवा ११ बजे बस्नेछ । उक्त बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

संघीय संसद्का दुवै सदनमा प्रस्तुत हुने कार्यसूचीअनुसार आज विभिन्न प्रतिवेदन, विधेयक र संसदीय विषयमा छलफल तथा प्रक्रिया अघि बढाइनेछ ।

सम्बन्धित समाचार