सहमति भन्दै प्रतिनिधि चयन गरेको भन्दै काभ्रे–२ मा उम्मेदवार असन्तुष्ट

617 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे–२ मा महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। सहमतिका नाममा निर्वाचन प्रक्रिया अघि नबढाई महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै उम्मेदवारहरूले निर्वाचन गराउन माग गरेका छन्।

काभ्रे–२ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका २३ जनाले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै बुधबार केन्द्रीय निर्वाचन समितिसमक्ष निवेदन दिएका छन्। उनीहरूको निवेदन निर्वाचन समितिले ३७९ नम्बरमा दर्ता गरेको जनाइएको छ।

उम्मेदवारहरूले उम्मेदवारी दर्ता भइसकेपछि पनि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक नगरेको र निर्वाचन प्रक्रिया पूरा नगरी सहमतिका आधारमा प्रतिनिधि चयन गरिएको भन्दै आपत्ति जनाएका छन्।

निवेदन दर्तामा संलग्न खुला तर्फका महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रकाश थापाका अनुसार आफूहरूसँग आवश्यक समन्वय नगरी निर्वाचन प्रक्रिया सम्पन्न भएको सूचना सार्वजनिक गरिएको थियो। त्यसपछि आफूहरूले प्रक्रिया सच्याएर निर्वाचन गराउन माग गर्दै केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको बताएका छन्।

यसअघि काभ्रे–२ को क्षेत्रीय कार्यसमिति भने सर्वसम्मत चयन भइसकेको छ। क्षेत्रीय सभापतिमा जितेन्द्रमान तामाङ सर्वसम्मत चयन भएको समाचार सार्वजनिक भएको थियो।

महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवादबारे निर्वाचन समिति संयोजक पुरुषोत्तम तिमल्सिनासँग प्रतिक्रिया लिन खोजिए पनि उनी पितृकार्यमा व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन असमर्थ रहेको जनाइएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अन्य केही निर्वाचन क्षेत्रमा पनि महाधिवेशन प्रतिनिधि छनोट तथा निर्वाचन प्रक्रियालाई लिएर विवाद देखिएको छ। स्याङ्जा–२, सिन्धुपाल्चोक–२, दैलेख–२ र काठमाडौं–३ लगायतका क्षेत्रमा समेत सहमति र निर्वाचन प्रक्रियालाई लिएर विवाद देखिएको रिपोर्टहरूमा उल्लेख छ।

 
 
 
सम्बन्धित समाचार