रास्वपा स्थानीय तह चुनाव लक्षित अभियानमा, २० असोजदेखि देशभरका पालिका पुग्ने
449
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
रास्वपाले असोज २० गतेदेखि प्रत्येक स्थानीय तहमा पुगेर संगठन विस्तार, जनसम्पर्क तथा निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्ने तयारी गरेको हो।
पार्टीले स्थानीय तहमा आफ्नो उपस्थिति मजबुत बनाउने, स्थानीय नागरिकका समस्या र अपेक्षा बुझ्ने तथा संगठनलाई वडा तहसम्म विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न पालिकामा पुगेर स्थानीयस्तरमा छलफल, भेटघाट तथा अन्तरक्रिया गर्ने तयारी छ। अभियानमार्फत स्थानीय तहमा पार्टीको संगठनात्मक अवस्था बुझ्नुका साथै आगामी निर्वाचनका लागि आवश्यक तयारीसमेत अघि बढाउने रास्वपाको योजना छ।
रास्वपाले पछिल्लो समय संगठन विस्तारलाई प्राथमिकता दिँदै स्थानीय तहसम्म पार्टी संरचना निर्माण गर्ने कामलाई तीव्रता दिइरहेको छ। असोज २० गतेदेखि सुरु हुने अभियानलाई त्यसैको निरन्तरताका रूपमा लिइएको छ।
पालिकास्तरमा पुग्ने टोलीले स्थानीय राजनीतिक अवस्था, जनताका अपेक्षा तथा विकास निर्माणका विषयमा जानकारी संकलन गर्ने र त्यसका आधारमा आगामी रणनीति तय गर्ने तयारी रहेको बताइएको छ।