बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–अमलेखगञ्जस्थित ३ नम्बर पुल क्षेत्रमा सडक तथा वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा हटाउने क्रममा जनप्रतिनिधिले अवरोध गरेका छन् ।
सडक र वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन डिभिजन वन कार्यालय पर्सा तथा सम्बन्धित निकायको टोली सोमबार एस्काभेटरसहित फिल्डमा पुगेको थियो ।
तर, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा पुगेका जनप्रतिनिधिले संघीय सरकारको निर्देशनअनुसार स्थानीय तहसँग समन्वय नगरी संरचना हटाउन नदिने अडान लिएपछि वन कार्यालयको टोली खाली फर्किएको हो ।
वन अधिकृत ललन राउत कुर्मीको नेतृत्वमा वनरक्षक तथा कर्मचारीको टोली संरचना हटाउन पुगेको थियो । सो क्रममा स्थानीय जनप्रतिनिधि र वन कर्मचारीबीच करिब तीन घण्टा छलफल भएको थियो ।

छलफलपछि तत्काल चाडपर्वसम्म अतिक्रमित संरचना हटाउने काम अघि नबढाउने सहमति भएको छ । चाडपर्वपछि जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि, वन कार्यालय, सडक कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला पक्षबीच सर्वपक्षीय छलफल गरी आवश्यक निर्णय लिने सहमति भएको हो ।
उपमहानगरपालिकाका उपप्रमुख अधिकारीले स्थानीय तहसँग समन्वय नगरी संघीय सरकारअन्तर्गतका निकायले काम गर्न नहुने बताएका छन् ।
‘संघीय सरकारको नेतृत्वमा रहेको जुनसुकै निकाय भए पनि स्थानीय निकायसँग सरोकार नराखी गरिने कुनै पनि काम वैध हुँदैन,’ उनले भने, ‘पहिला वन कार्यालयले आफ्नो अधिकार सुनिश्चित गरेर आउनुपर्छ ।’
अमलेखगञ्जको ३ नम्बर पुल क्षेत्रमा यसअघि पनि सडक तथा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको थियो । करिब चार महिनाअघि जेठ १ गते डिभिजन वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज र सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले उक्त क्षेत्रमा रहेका ७२ वटा घर, टहरा तथा होटल हटाएको थियो ।
तर, पछिल्लो समय सोही क्षेत्रमा पुनः ६ वटा होटल तथा घरटहरा निर्माण भएको वन कार्यालयको दाबी छ ।
अतिक्रमित संरचना हटाउने तयारीबारे जानकारी पाएपछि स्थानीय जनप्रतिनिधि बिहानै अमलेखगञ्ज पुगेका थिए । जनप्रतिनिधिहरूले संघीय निकायको निर्देशनअनुसार संरचना हटाउन नदिने अडान लिएपछि वन कार्यालयको टोली तत्कालका लागि पछि हटेको हो ।
वन अधिकृत ललन राउत कुर्मीले जनप्रतिनिधिको आग्रहमा तत्कालका लागि अभियान स्थगित गरिए पनि अतिक्रमित संरचना भने हटाइने स्पष्ट पारे ।
उनका अनुसार अमलेखगञ्ज क्षेत्र नकारात्मक सूचीमा परेको अतिक्रमित क्षेत्र हो । त्यहाँ घरटहरा बनाएर बसोबास वा व्यापारिक गतिविधि सञ्चालन गर्न कानुनी रूपमा अनुमति नरहेको वन कार्यालयको भनाइ छ ।
‘यो नकारात्मक सूचीमा परेको अतिक्रमित क्षेत्र हो । यहाँ घरटहरा बनाएर बसोबास वा व्यापार गर्न पाइँदैन,’ कुर्मीले भने, ‘आज नभए भोलि हट्छ । स्थानीय आफैँले समयमै खाली गर्दा उपयुक्त हुन्छ ।’
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जनप्रतिनिधिहरू आफैँ पुगेर अनुरोध गरेपछि तत्काल मुठभेडको अवस्था सिर्जना नहोस् भनेर केही समयका लागि अभियान स्थगित गरिएको बताए ।
उनले संरचना नहटाउने निर्णय नभएको स्पष्ट पारे ।
‘जनप्रतिनिधि आफैँ उभिएपछि मुठभेड नहोस् भन्नका लागि हामीले स्थानीयलाई खाली गर्न समय दिएर फर्किएका छौँ । यसको मतलब घरटहरा नहटाउने भन्ने होइन,’ प्रजिअ अधिकारीले भने, ‘केही दिनलाई समय दिएका छौँ । त्यस अवधिमा पनि खाली नभए डोजर लगाएर हटाइनेछ । यसको अरू विकल्प छैन ।’
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले अमलेखगञ्ज क्षेत्रमा यसअघि हटाइएका ३६ घरधुरी तथा ७२ वटा संरचनामध्ये दुई परिवार मात्रै वास्तविक सुकुमबासी रहेको दाबी गरे ।
त्यस्तै, दुधौरा पुलमुनिको बस्तीमा करिब ५० घरधुरी रहेको र तीमध्ये ६ देखि ८ घरधुरी मात्रै सुकुमबासी रहेको उनले बताए । वास्तविक सुकुमबासी परिवारको व्यवस्थापनका लागि राज्यले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।
प्रमुख झाले जनप्रतिनिधिहरू संगठित रूपमा पुगेर वन कार्यालयको काममा हस्तक्षेप गर्नु उचित नभएको बताए ।
अतिक्रमित संरचना हटाउने तयारीका क्रममा वन अधिकृत कुर्मी, वन अधिकृत मधुकान्त सिंहसहित डिभिजन वन कार्यालयका वनरक्षक तथा कर्मचारीहरू फिल्डमा पुगेका थिए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा ७० जनाभन्दा बढी प्रहरी परिचालन गरिएको थियो ।
संरचना हटाउने क्रममा विवाद बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको थियो । जनप्रतिनिधि तथा स्थानीयले केही समय माग गरेपछि प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरीको टोलीलाई भने पथलैयाबाटै फर्कन निर्देशन दिएका थिए ।
वन कार्यालयका अनुसार अतिक्रमित क्षेत्र खाली गराउने विषयमा चाडपर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल हुनेछ । त्यसपछि सम्बन्धित निकायबीचको निर्णयका आधारमा अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाइनेछ ।