काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा पक्राउ गरिएको घटनालाई लिएर सर्वोच्च अदालत र प्रमुख विपक्षी दलका नेताबाट फरक–फरक कोणबाट प्रश्न उठाइएको छ।
सर्वोच्च अदालतले राणालाई घरमै सुतिरहेको अवस्थामा राति पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको र करिब १० घण्टापछि परिवारको जिम्मा लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा राज्यका निकायले पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीशसँग गर्ने व्यवहार संवेदनशील विषय भएको उल्लेख गरिएको छ।
संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यका रूपमा स्वीकार गरेको स्मरण गराउँदै सर्वोच्चले प्रचलित कानुनअनुसारको उचित प्रक्रिया पूरा गरेर मात्र नागरिकलाई नियन्त्रणमा लिन सकिने जनाएको छ।
उचित प्रक्रिया नअपनाई गरिने कामकारबाहीले स्वेच्छाचारिताको अवस्था निम्त्याउने भन्दै सर्वोच्चले त्यस्तो अभ्यास लोकतान्त्रिक शासन प्रणालीका लागि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि राणाको पक्राउ प्रकरणलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।
पाँचथरमा आयोजित कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै आङ्देम्बेले सरकारको कार्यशैली पारदर्शी नभएको र राज्यका निकाय स्थापित कानुन तथा प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने बताएका छन्।
उनले राणालाई रातारात पक्राउ गर्नुको कारण र त्यसको प्रक्रिया स्पष्ट हुनुपर्ने बताएका छन्। कुनै व्यक्ति वा पदाधिकारीमाथि गल्ती वा कमजोरीको प्रश्न उठे कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने उनको भनाइ थियो।
आङ्देम्बेले पक्राउ गर्ने र पछि छाड्ने प्रक्रियामाथि प्रश्न उठाउँदै राज्य सञ्चालनको शैलीप्रति समेत टिप्पणी गरेका छन्। त्यस्तै, उनले प्रहरी प्रशासनले सरकारको आदेश पालना गर्नुका साथै आफ्नो कानुनी दायित्व र पेसागत मर्यादासमेत कायम राख्नुपर्ने बताएका छन्।
सर्वोच्च अदालतले भने न्याय सम्पादनका क्रममा भएका वा हुने कामकारबाहीलाई कुनै पूर्वपदाधिकारीसँग जोडेर चित्रण वा सम्प्रेषण नगर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ। साथै न्यायपालिकाका कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने प्रतिबद्धता व्यक्त गरेको छ।