काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात अवरुद्ध भएको छ। सडक विभागले अवरुद्ध सडक खुलाउन पहिरो हटाउने, अस्थायी ट्र्याक बनाउने र क्षतिग्रस्त संरचना मर्मत गर्ने कामलाई तीव्रता दिएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार वर्षा कम भएसँगै धेरै स्थानमा सडक खुलाउने काम सुरु भएको छ। उनका अनुसार अधिकांश सडकखण्डमा क्षतिको दूरी छोटो भएकाले तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने अवस्था छ।
तर बीपी राजमार्गमा भने सडक र डाइभर्सन दुवै बगेकाले पुनः सञ्चालनमा समय लाग्ने देखिएको छ। काभ्रेको रोशी क्षेत्र तथा सिन्धुलीको बालुवा क्षेत्रमा सडक अवरुद्ध छ।
बेनी–जोमसोम–कोरला सडकमा पनि बाढीले एप्रोच सडक बगाएपछि चीनसँगको व्यापार प्रभावित भएको छ। पुल सुरक्षित रहेकाले एप्रोच सडक निर्माण गरी कोरला नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ।
यसैगरी रसुवागढी जोड्ने पासाङल्हामु राजमार्ग, त्रिशूली–मैलुङ–रसुवागढी सडक, कान्ति लोकपथ, पृथ्वी राजमार्ग, मन्थली–खुर्कोट, चामे–बेँसीसहर, बेनी–जोमसोम, मालढुङ्गा–बेनी, मध्यपहाडी तथा कालीगण्डकी करिडोरका विभिन्न खण्डमा अवरोध देखिएको छ।
बाढीपहिरोका कारण केही मोटरेबल तथा झोलुङ्गे पुलमा पूर्ण र आंशिक क्षति पुगेको छ। मनाङमा अस्थायी काठे पुलसमेत बगेका छन्।
सरकारले सडक यातायातलाई नियमित बनाउन प्राथमिकताका आधारमा मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको जनाएको छ। सडक विभागका अनुसार तत्काल थप क्षति नभए धेरैजसो अवरुद्ध सडक छोटो समयमै सञ्चालनमा ल्याउन सकिनेछ।